

०३ भाद्र २०८०, पोखरा
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. पोखराले संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९।०८० को प्रगती समिक्षा, पछिल्लो समयमा लघुवित्त क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र संस्थाको भावि कार्ययोजना तथा शेयरधनीहरु सुझाव संकलन गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरेको थियो ।
संस्थाले मिति २०८० भाद्र १ गते पोखरामा र भाद्र २ गते बागलुङमा यो कार्यक्रम सम्पन्न गरिसकेको छ भने भाद्र ८ गते काठमाण्डौमा गर्ने योजना गराएको छ ।
पोखरामा सम्पन्न अन्तरक्रिया कार्याक्रममा शेयरधनीहरुको तर्फबाट रामप्रसाद सुवेदी, हरिनारायण गिरी, डोलराज ढुंगाना, डोलराज के.सी., दलवहादुर जि.सी., राजेन्द्र रेग्मी, दिनेश थापा र सावीत्रि पौडेल तथा बागलुङमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शेयरधनी प्रकाश रिजाल, उत्तमवहादुर महत, नारायण शर्मा, ज्ञानेन्द्रप्रसाद सुवेदी, डण्डपाणी सापकोटा लगाएतले आफ्ना सुझाव तथा जिज्ञाँसा व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रियामा बोल्ने अधिकाँश शेयरधनीहरुले संस्थाले शेयरधनीहरुसंग यस्तो खालको कार्यक्रम राखेर आफुले लगानी गरेको संस्थाको बारेमा जानकारी पाउने र सल्लाहा सुझाव दिने अवसर सिर्जना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । शेयरधनीहरुले अघिल्लो आर्थिक वर्षमा संस्थाले आफुलाई देशभर कार्यक्षेत्र विस्तार गर्ने कार्य गरेको हुनाले यस आर्थिक वर्षमा क्षेत्र विस्तार भन्दा पनि गुणस्तर विस्तारमा लाग्नुपर्ने सुझाव दिनुभएको थियो । अन्रक्रिया कार्यक्रममा पछिल्लो समयमा लघुवित्त क्षेत्र विरुद्ध भईरहेका आन्दोलन र आक्रमणका विषयमा शेयरधनीहरुले चिन्ता व्यक्त गर्दै यसबाट संस्थालाई परेको असर र व्यवस्थापनका विषयमा जिज्ञाँसा व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा संस्थाको विगत, वर्तमान र भविष्को रणनीति र शेयरधनीहरुबाट उठेका जिज्ञाँसाहरुको बारेमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्माले प्रष्ट पार्नुभएको थियो । शर्माले संस्था देशका ७७ जिल्लामा १२५ वटा कार्यालय मार्फत १ लाख १५ हजार भन्दा वढि गरिव तथा विपन्न वर्गमा ५ अर्व ३५ करोड भन्दा वढि कर्जा परिचालन तथा २ अर्व १५ करोड भन्दा वढि बचत संकलन गरेको जानकारी गराउनु भएको थियो । शेयरधनीहरुबाट उठेका जिज्ञाँसालाई सम्वोधन गर्दै प्रवन्ध सञ्चालक शर्माले पछिल्लो केही वर्ष यता लघुवित्त क्षेत्रमा विभिन्न अमुक व्यक्ति तथा समुहबाट भ्रामक प्रचारबाजी गरी लघुवित्त क्षेत्रलाईनै सिध्याउन खोज्ने कार्य भईरहेकाले यसको प्रतिवाद सञ्चालक र कर्मचारी मात्र नभई शेयधनीहरुको तर्फबाट पनी हुनुपर्ने बताउनु भएको थियो । शर्माले शेयधनीहरुबाट आएका सुझावहरुलाई आउने दिनमा कार्यान्वयन गर्ने बताउदै संस्थाको व्यवस्थापन सधैभरी शेयरधनीहरुको लगानी सुरक्षीत र उचीत प्रतिफल प्रदान गर्न तर्फ अग्रसर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडलले अहिलेको अवस्थामा वित्तीय क्षेत्रमा वढि भन्दा वढि संयमता अपनाउनु पर्ने बताउनु भएको थियो उहाँले वित्तीय क्षेत्र भनेको सिसाको घर जस्तै भएकाले कति बेला कहाँबाट आक्रमण हुन्छ त्यसको व्यवस्थापनका लागि हरदम तयार रहनुपर्ने बताउदै संस्थामा अनुगमन तथा निरीक्षणलाई गुणस्तरीय बनाउनुपर्ने पौडेलको भनाई थियो ।
संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक युक्तवहादुर सुवेदी र नायव कार्यकारी प्रमुख वावुराम कुँवर र सञ्चालन प्रवन्धक संगिता शर्माले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक नरेश के.सी.र विद्या श्रेष्ठको उपस्थिती रहेको थियो ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal