शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारीत
१४ जेठ २०७८, बागलुङ
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको प्रथम विशेष साधारण सभा शुक्रबार बागलुङ बजारमा भर्चुयोल (विद्युतीय) माध्यमबाट सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्माले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको प्रस्ताव सभाले पारित गरेको हो ।
विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।
शालिग्रामको १०० कित्ता सेयरलाई सिवाईसी नेपालको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा देखिएको सदस्यहरुको दोहोरोपना र संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संस्थाहरु एक अर्कामा गाभिने वा प्राप्ती हुनै पर्ने धारण व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षको आज्ञाले संचालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि शेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पार्नुभएको थियो ।
सभामा शेयरधनी महेन्द्रकुमार गिरी, कृष्णप्रसाद सापकोटा, प्रकाश रिजाल लगाएतले आफ्ना भनाईहरु राख्नुभएको थियो । सभाको सञ्चालन संस्थाका कमपनी सचिव चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।
यसैबीच, शालिग्राम लघुवित्त वित्तीय संस्था लि. को शुक्रबार सम्पन्न विशेष साधारण सभाले समेत संस्थालाई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै संस्थाको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था लि. प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal